परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान ११:३० बजे भिस्तारा एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा उनको भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।