विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो।

उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको हो। पौडेलले प्रमाण नष्ट गर्न सक्ने तथा पैसा लुकाउन सक्ने भन्दै अदालतले थुनामा पठाएको हो।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो। नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन्। न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको छ।

अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ रूपैयाँँ जम्मा भएको छ। उनले त्यहाँ राखेको रकमबारे अख्तियारले छानबिन गरेको थियो।

सिंगापुरको युओबीमा पौडेलको नामको खाता नम्बर ३८०–९४८३१०८ मा पटक पटक रकम जम्मा भएको थियाे। पौडेलको खातामा २०७६ पुस १५, २०७६ चैत १४, १९ र २५ गते रकम जम्मा भएको थियाे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *